+977-1-4791963 , 4790201 | New Baneswor, Kathmandu nefscun@nefscun.org.np

नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम

Supervisory Checks and Analysis for Navigation (SCAN)

वित्तीय सहकारी संस्थाको मूल दायित्व सदस्यको बचतको सुरक्षा हो। वित्तीय क्षेत्रमा जोखिम पूर्ण रूपमा हटाउन नसकिने भए पनि प्रभावकारी व्यवस्थापन आवश्यक हुन्छ। जोखिम व्यवस्थापनलाई बेवास्ता गरी सञ्चालन गरिएका गतिविधिले अल्पकालीन लाभ दिए पनि दीर्घकालमा संस्थालाई गम्भीर जोखिमतर्फ लैजान्छ। सहकारी संस्थाको गुणस्तरीय सञ्चालन यसको प्रणाली, सदस्यप्रतिको उत्तरदायित्व, व्यवहार र संस्थागत संस्कृतिमा निर्भर गर्दछ, जसका लागि सञ्चालन पद्धतिहरूको नियमित स्वतन्त्र निरीक्षण र विश्लेषण अनिवार्य हुन्छ।

परिवर्तित नियामकीय परिवेशमा सदस्य संस्थाहरूलाई नियामकीय रूपमा अनुकूल बनाउँदै जोखिम मापन, विश्लेषण र पृष्ठपोषणमार्फत वित्तीय सहकारीको विश्वसनीयता अभिवृद्धि गर्न संघले सहकारी ऐन २०७४ को दफा २५(ङ) र दफा ९९ बमोजिम SCAN कार्यक्रम विकास गरी कार्यान्वयनमा ल्याएको छ।

SCAN कार्यक्रम अन्तर्गत संस्थाको वार्षिक जोखिम मूल्याङ्कन ६ जोखिम क्षेत्र२५ सूचक का आधारमा गरिन्छः

  1. कानुनी जोखिम – नियामकीय प्रतिवेदन, AML/CFT, कर, अडिट तथा श्रम कानुनको पालना
  2. वित्तीय स्वास्थ्य जोखिम – पूँजी पर्याप्तता, तरलता, शुद्ध ऋण लगानी, कुल बचत, शेयर, शुद्ध संस्थागत पूँजी, सञ्चालन खर्च र मासिक प्रतिवेदन
  3. ऋण जोखिम – भाखा नाघेको ऋण, सुरक्षण र सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र कर्मचारीको एकाघरमा ऋण केन्द्रीकृत
  4. तरलता जोखिम – साप्ताहिक औसत तरलता र तरलता प्रोफाइल
  5. सञ्चालन तथा सुशासन जोखिम – आन्तरिक नियन्त्रण, रणनीतिक योजना र प्रविधि,फिट एण्ड प्रपर
  6. बजार जोखिम – सदस्य तथा सम्पत्तिको वृद्धिदर

जोखिम मूल्याङ्कनका लागि चार संकेत रङ प्रणाली लागू गरिएको छः

  • हरियो – सामान्य जोखिम
  • निलो – जोखिम उन्मुख
  • पँहेलो – शंकास्पद जोखिम
  • रातो – घातक जोखिम

कुल १०० जोखिम अंकमध्ये ३० भन्दा कम हरियो, ३०–५० निलो, ५०–७५ पँहेलो र ७५ भन्दा माथि रातो जोखिम मानिन्छ। ५० भन्दा बढी अंक प्राप्त गर्ने संस्थाहरू शिघ्र सुधार वर्ग मा राखी विशेष निगरानी तथा SUPER (Support–Enhance–Ensure–Regularize) कार्यक्रममार्फत सुधारात्मक उपाय अवलम्बन गराइन्छ। गम्भीर कानुनी तथा नियामकीय उल्लङ्घन भएका संस्थाहरू स्वतः घातक जोखिममा वर्गीकृत हुनेछन्।

SCAN कार्यक्रममा आवद्धता प्रक्रिया

SCAN कार्यक्रममा आवद्ध हुन संस्थाले सञ्चालक समितिबाट निर्णय गराई संघले तोकेको ढाँचामा निवेदन पेश गर्नुपर्छ। निवेदन स्वीकृत भएपछि संस्था र संघबीच द्विपक्षीय सम्झौता सम्पन्न गरी नियमित निरीक्षण, अनुगमन तथा सुपरिवेक्षण प्रक्रिया सुरु हुन्छ। अघिल्लो वर्षसम्म संघको गुणस्तर सुनिश्चितता कार्यक्रममा नविकरण भएका संस्थाहरूको हकमा SCAN सम्झौता स्वतः नविकरण गर्न सकिनेछ।

SCAN कार्यक्रममा आवद्ध संस्थाहरूमध्ये रु ५ करोड वा सोभन्दा बढी कुल सम्पत्ति भएका संस्थाहरू प्रोबेसन कार्यक्रममा रहनेछन्। सम्झौता गर्दा रु २५ करोडभन्दा बढी वासलात भएका संस्थाहरूले प्रोबेसन वा एक्सेस कार्यक्रममध्ये कुनै एक छनौट गर्नुपर्नेछ। दुबै कार्यक्रमअन्तर्गत सूचकहरूको निरन्तर अभ्यास तथा संघद्वारा नियमित कार्यसम्पादन मूल्याङ्कन गरिनेछ। असल अभ्यासको सिकाइ आदान–प्रदानका लागि वार्षिक दुईवटा Credit Union Risk Management (CURIMA)-360 Workshop मा सहभागी हुनुपर्नेछ ।

SCAN कार्यक्रममा आवद्धता शुल्क संस्थाको पछिल्लो अडिट प्रतिवेदनमा उल्लेख कुल सम्पत्तिको आधारमा रु ३०,००० देखि १,१०,००० सम्म निर्धारण गरिएको छ ।

 

कार्यक्रममा सहभागिताका लागि आवेदन फारम तथा सम्झौता ढाँचा Downloads मेनुबाट डाउनलोड गर्नुहोला । विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्